धरान : प्रदेश का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा बिहीबार ३ जनाको मृत्यु भएको छ । 
भोजपुरको भोजपुर नगरपालिका-१२ मा  ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ ।  बिहीबार बेलुका ६ बजे भित्री सडक खण्डमा मे. १ त ४७४४ नम्बरको  ट्याक्टरले ठक्कर दिँदा स्थानीय सुन्दर तामाङ को ४ वर्षीय  छोरा मेन्सन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक बालकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको तथा ठक्कर दिने  ट्याक्टर र चालक भोजपुर रामप्रसादराई-९ का राजु राईलाई जिल्ला प्रहरी कार्यालय  भोजपुरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।
यसैगरी विहिबारनै मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ बालकको मृत्यु भएको छ ।  
बिहीबार दिउँसो सुनसरीको कोसी गाउँपालिका–५ कुमियाहीमा रहेको कुमियाही खोलामा नुहाउने क्रममा स्थानीय  नजारुल हकको ९ वर्षीय छोरा  नफाजल हक पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए भने यसै गरी मोरङको जहदा गाउँपालिका–७ का अशोक मण्डलको ११ वर्षीय  छोरा तरुण मण्डल घर नजिकै रहेको खहरे  खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा आफन्तले फेला परेका थिए । मृतकको शवको पोस्टमार्टमको लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।