धरान : किरात राई यायोक्खा केन्द्रीय समितिको आव्हानमा साउन ८ गते विराटनगरमा १ नम्बर प्रदेशको नाम किरात हुनुपर्ने माग गर्दै विशाल प्रदर्शन गर्ने भएको छ । 

किरात राई यायोक्खा सुनसरीको पहलमा शुक्रवार किराया भवनको सभाहलमा विभिन्न जनजातीय सङ्घ संस्थाका पदाधिकारीहरू सहितको संयुक्त बैठकले साउन ८ गते प्रदेश १ को संसद् भवन अघि संसद् बैठक चलिरहेको बेलामा विशाल प्रदर्शन गर्ने निर्णय गरेको किराया सुनसरी अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।

प्रदेश सभाबाट प्रदेश १ को नाम किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गर्ने सो प्रदर्शनमा प्रदेश १ का १४ वटै जिल्लाबाट सहभागिता हुने बताइएको छ । 

विराटनगरका विभिन्न भागमा विशाल झाँकी र र्‍याली सहित प्रदर्शन गर्ने र १२ बजे देखि संसद् भवन अघि धर्ना दिने बताइएको छ । 

शुक्रवार धरानमा किरायाको आव्हानमा बसेको संयुक्त बैठकमा नेवा देय दबूँ, किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाज, नेपाल तामाङ धेदुङ, नेपाल मगर सङ्घ, तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद्, नेपाल भुजेल समाज, नेपाल माझी उत्थान सङ्घ र उराउ समाजले किरात प्रदेशको माग गर्ने आन्दोलनमा एकबद्धता जनाउने निर्णय गरेका छन् । उनीहरूले पनि जातीय झाँकी सहित प्रदर्शनमा उत्रने बताइएको छ ।