धरान : नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ । 

शुक्रवार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो । 

हेटौँडामा आयोजित प्रेस युनियनको नवौँ महाधिवेशनमा नेपाली काँग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेका हुन् । 

अधिकारीले युनियन सुनसरीको नेतृत्व गरेको २८ महिनामा दुई दर्जन बढी काम गरेका छन् । सञ्चारकर्मीका लागि प्रत्यक्ष रूपमा सकारात्मक काम गरेर अधिकारीको नेतृत्व उत्कृष्ट जिल्ला घोषित भएको प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताए । 

सुनसरी सहित चितवन र कैलाली जिल्लालाई पनि उत्कृष्ट जिल्ला घोषणा गरियो । शनिवारसम्म हुने महाधिवेशनको शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।