धरान : सुनसरीको इनरुवा नगरपालिका-४ बाट ठुलो परिमाणको गाँजा सहित एक जना पक्राउ परेका छन् । 

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २९२६ नम्बरको  पिकअपलाई चेकजाँच गर्ने क्रममा सात वटा बोरामा रहेको २०८ केजी गाँजा फेला पारी बरामद गरेको हो । पिकअपमा गाँजा बरामद भएसँगै चालक सहिद भूमि गाउँपालिका-२ धनकुटाका २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय  सुनसरीबाट थप अनुसन्धान भइरहेको छ   ।

यसैगरी शनिवार दिउँसो ३ बजे  अस्थायी प्रहरी पोस्ट बेलहरा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ आउँदै गरेको प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । गाडीमा गाँजा बरामद भएसँगै चालक शहिदभुमी गाउँपालिकाका५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ ।