धरान : धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ धराने जनतालाई खानेपानी खुवाउने अभियानमा लागि रहँदा धरान-१४ विजयपुरमा भने मध्ये बर्खामा खानेपानी समस्या देखिएको छ । 

सुख्खा याममा खानेपानी नआउनु स्वाभाविक भए पनि यति बेला विजयपुरमा खानेपानी राम्रोसँग नआउँदा खानेपानीमा समस्या देखिएको छ । केही दिन विजयपुरमा खानेपानी नआएको भन्दै धरान-१४ नयाँटोलबाट वडा कार्यालयमा डेलिगेसन गर्न आएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

विजयपुरको डाडागाउँ क्षेत्रमा पनि समस्या देखिएको थियो । पानी आउँदै नआउने भने होइन तर पानी टङ्कीमा नचढ्ने, फोर्स नहुने र जर्वजस्ती मोटर लगाएर तान्यो भने सामान्य पानी चुहिने अवस्था आएको विजयपुरबासीको भनाई छ । बरु हिउँदमा यो भन्दा ठुलो पानी आउँथ्यो । तर यस पटक बर्खा याममा खानेपानीमा समस्या भएको वडावासीले आफूलाई फोन गरेर बताएको वडाध्यक्ष भट्टराईले बताए। 

धरानको भु-वनावटलाई हेर्ने हो भने धरान-१४ विजयपुर उच्च ठाउँमै पर्छ । खर्दु जलाधार क्षेत्रबाट विजयपुर क्षेत्रमा पानी वितरण गरिएको छ । यति बेला मेयर हर्क साम्पाङ निशाने खोलामा नयाँ पानीको टङ्की बनाउने अभियानमा लागि रहेको बेला विजयपुरमा पानीको समस्या देखिनु खानेपानी व्यवस्थापन र वितरणमा समस्या भएकोले हुन सक्ने विजयपुरबासीको बुझाई छ ।

विजयपुरमा २ दिन खानेपानी नआउनुको कारण खोलामा खानेपानीको पाइप फुटेकोले यस्तो भएको खानेपानीको विजयपुर क्षेत्र हेर्ने कर्मचारीले बताए । उनका अनुसार अहिले विजयपुरमा खानेपानीमा त्यस्तो कुनै समस्या नभएको दाबी गरे । खानेपानी व्यवस्थापन बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेललाई यस विषयमा कुरा गर्न फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।