इटहरी : नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पहिचान भेटिने र द्वन्द मेटिने गरी प्रदेश १ को नामकरण गर्नुपर्ने बताएका छन् । आइतबार प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रदेश १ को नामको बारेमा मध्यमार्गी बाटो अपनाउनुपर्ने बताएका हुन् । नेपाली काँग्रेस साझा विन्दुमा सहमति गरौँ भन्ने पक्षमा रहेको धारणा राखे ।

सरकारमा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने कोइरालाले बताए । सरकार जवाफबाट पन्छिरहेको बताउँदै उनले उठेका प्रश्नको जवाफ दिनु भनेको प्रदेशबासी र देशवासीले जानकारी पाउनु भएको भन्दै सचेत गराए । संसद्मा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जानकारी दिनु संसदीय व्यवस्थाको सुन्दर पक्ष रहेको धारणा राखे ।  

त्यससँगै माननीय मुख्यमन्त्री सहित मन्त्रीहरूले बहुबर्षे योजनाको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । "ठेकेदारले काम छाडेर भागिरहेका छन् । ठेकदारले काम गर्न मान्दैनन् । किन यस्तो भयो ? यसको जवाफ दिनुपर्छ । बहुबर्षे योजना कति सफल भए र असफल भए भने के कारणले यस्तो भयो ? उचित जवाफ दिनुपर्‍यो," उनले भने । 

मल खादको अभावलाई व्यवस्थापन गर्ने बारे प्रदेश सरकारको ध्यानाकर्षण गराए । कोभिडका भाइरसको सङ्क्रमण पुनः फैलिँदै गएको स्मरण गराउँदै उनले प्रदेश सरकारको तयारी र व्यवस्थापन बारे धारणा माग गरे ।