चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिक , अपाङ्ग र रातो कार्ड भएका अपाङ्गहरूलाई सामाजिक सुरक्षा भत्ता घर– घरमा गएर प्रदान गर्ने भएको छ । 

मङ्गलवार वराहक्षेत्रमा भत्ता वितरण गर्दै आएका बैङ्कहरूसँगको छलफलबाट उक्त निर्णय गरिएको हो । छलफलमा अन्य सामाजिक सुरक्षा भत्ताहरू टोल – टोलमा गएर वितरण गर्ने विषयमा समेत छलफल भएको थियो ।

८० वर्ष माथिका ज्येष्ठ नागरिकहरू र रातो कार्ड भएका अपाङ्गहरू बैङ्कमा आएर भत्ता लिन नसक्ने भएकाले उनीहरूलाई घरमै पुगेर भत्ता प्रदान गर्न बैङ्कसंग छलफल गरिएको पञ्जिकरण शाखाका एम.आइ .एस. अपरेटर पवन पोखरेल बताए ।

८० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप भत्ता घरमै प्रदान गर्न लागिएको नगर प्रमुख रमेश कार्कीले बताए । रातो कार्ड भएका अशक्तलाई समेत घरमा नै भत्ता दिने सहमति बैङ्कसँग भएको छ । कोसीपारि टप्पु र सुर्यकुण्ड क्षेत्रमा सामाजिक सुरक्षा भत्तालाई सहज बनाउने विषयमा समेत छलफल भएको थियो ।

सामाजिक सुरक्षा भत्ताको विषयमा नगरपालिकालाई बैङ्कले दिने प्रतिवेदन र भत्ता वितरणलाई सहज र व्यवस्थित  बनाउने विषयमा समेत छलफल भएको पञ्जिकरण शाखाका एम.आइ .एस. अपरेटर पवन पोखरेलले बताए । 

नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्ल, वडा नं १० का वडा अध्यक्ष तेजबहादुर गुरुङ, लेखा अधिकृत वीरेन्द्र शाखा, प्रशासन अधिकृत राजकुमार गौतम, पञ्जिकरण शाखाका एम.आइ .एस. अपरेटरहरू , मितेरी विकास बैक चतरा, प्रकाशपुर शाखाका प्रमुख , सिटिजन बैङ्क लिमिटेड चक्रघट्टि र लौकही शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।