धरान : पाँचथरको तुम्बेवा गाउँपालिका २ मेवागाँउ स्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिल सञ्चालक सोही स्थान बस्ने ३८ वर्षीय जीवन मगर रहेका छन् । हिजो दिउसो २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएका जीवनको हिजो बेलुका पौने ९ बजे घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ भने उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ वर्षीय पूर्ण बहादुर मगर समेत सामान्य घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको छ ।