धरान : तामाङ जातिको साझा संस्था नेपाल तामाङ घेदुङले परम्परागत शैली छोडेर अब नयाँ शैली अपनाए चल्नुपर्नेमा तामाङ अगुवाहरुले जोड दिएका छन् ।

नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा तामाङ अगुवा तथा घेदुङका नेताहरूले यस्तो बताएका हुन् । उनीहरूले घेदुङको विधान बमोजिमको संरचना र सङ्गठनलाई चुस्त दुरुस्त राख्दै समय सापेक्ष नीति तथा कार्यक्रम र दीर्घकालीन योजना बनाएर घेदुङ अघि बढ्नु पर्ने बताएका छन् ।

घेदुङ स्थापना भएको ६७ वर्ष पुग्दासम्म सांस्कृतिक, भाषिक र धार्मिक जस्ता पहिचानका मुद्दा विद्यमान हुँदा शैक्षिक, राजनीतिक र आर्थिक मुद्दा ओझेलमा परेको भन्दै यस्ता मुद्दाहरू क्रमशः अन्त्य गर्ने गरी नीति तथा कार्यक्रम र योजना निर्माण गरी कार्यान्वयनमा प्रभावकारिता ल्याइनुपर्नेमा उनीहरूले जोड दिएका छन् । 

नेपाल तामाङ घेदुङ सुनसरीका कार्यवाहक अध्यक्ष बुद्धिबहादुर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल तामाङ घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण बोल्न, विशेष अतिथि केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का अध्यक्ष रेखबहादुर घिसिङ, केन्द्रीय सदस्य जानुकला तामाङ, संरक्षक सदस्यद्धय मनु मोक्तान र लक्ष्मण मोक्तान, मोक्तान वंशावली समाजका प्रदेश नंं १ का अध्यक्ष हर्क मोक्तान, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान, तामाङ पत्रकार सङ्घका सुनसरी अध्यक्ष विना मोक्तान, घेदुङका धरान नगर उपाध्यक्ष सपन तामाङ लगायतले आफ्नो विचार राखेका थिए भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण सुनसरी सचिव मङ्गलसिंह मोक्तानले गरेका थिए ।

Ghedung-1