धरान : झापा र सुनसरीमा बुधवार भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। 
झापाको कमल गाउँपालिकामा टिपरको ठक्करबाट बुधवार अपराह्न एक जना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर तुम्बेवा गाउँपालिका वडा नम्बर ५ का १६ वर्षीय सन्जीप इम्सङ लिम्बु रहेका छन्।
झापा प्रहरीका अनुसार प्रदेश ०३-००१ क २१२ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो। कमल गाउँपालिका-५ गीता पेट्रोल पम्पअगाडि पश्चिमबाट पूर्व जाँदै गरेको टिपरले लिम्बुलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालक मकवानपुर चुरेमाई नगरपालिका-५ का ३१ वर्षीय सुजन वाइबा प्रहरीको नियन्त्रणमा छन्। 
यसैगरी सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-४ मा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 
बुधवार साँझ सुनसरीको इनरुवाबाट लौकही तर्फ जाँदै गरेको भारतीय नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक बर्दिबास नगरपालिका-६ धनुषाका ३० वर्षीय बालकृष्ण राना मगरको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।