इटहरी : इनरुवा नगरपालिकामा जारी आन्दोलनको विषयमा नेपाली काँग्रेस सुनसरीले ध्यानाकर्षण भएको जनाएको छ । करारका कर्मचारीलाई म्याद थप नगरेको विषयमा आन्दोलन गर्नु अवैधानिक भएको ठहर गर्दै काँग्रेसले सचेत गराएको हो । 

जिल्ला सचिव वीरेन्द्र शाहले ध्यानाकर्षण भएको जनाउँदै इनरुवा नगरपालिकामा कर्मचारीहरूको सङ्ख्या आवश्यकता भन्दा बढी रहेको प्रस्ट भएकाले करार कर्मचारीको म्याद थप नभएको बताएका छन् । म्याद थप नभएका कर्मचारीहरूले अमर्यादित तरिकाले नेपाली काँग्रेस सुनसरीका सभापति तथा नगर प्रमुखलाई अपशब्दको प्रयोग गरी नारा जुलुस गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको उनले जनाए ।
नेपाली काँग्रेस विधिको शासन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्याय पालिकामा विश्वास गर्ने पार्टी भएको तर अत्यावश्यक सेवा नै अवरुद्ध गरेर आन्दोलन गर्नु अवैधानिक भएको शाहले उल्लेख गरेका छन् । नगरपालिकाले यस विषयमा ध्यान दिने जनाउँदै काँग्रेसले आन्दोलनको खण्डन गरेको छ । 
उता नगर प्रमुख भण्डारीले नगरपालिकाको व्ययभार घटाउन कर्मचारीको म्याद थप नगरिएको बताए । म्याद थप नगर्दा वार्षिक २ करोड भन्दा बढी खर्च जोगिने उनको भनाई छ ।
inaruwa-congress-statement