धरान : सियोन स्कुलको आयोजनामा शुक्रवार आयोजित एक दिने सियोन स्कुल थ्री बाई थ्री महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि होलिल्याण्ड स्कुलले जितेको छ ।

महिला तर्फको फाइनल खेलमा होलिल्याण्डले आयोजक सियोन स्कुललाई १२–१ र पुरुष तर्फ डिपो स्कुललाई ९–७ अङ्कको अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा विजयी हासिल गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक भएको पुरुष तर्फको खेलमा भने निर्धारित समय सकिँदा दुवै टिमले बराबर ७–७ अङ्क जोडेपछि समय थप गरिएको थियो । थप समयमा होलिल्याण्डले दुई पोइन्ट जोड्दै ९–७ अङ्कको नतिजा ल्याउँदै होलिल्याण्ड विजयी भएको थियो ।

उपाधि सँगै विजेता होलिल्याण्ड स्कुलका महिला पुरुष दुवै टिमले नगद चार हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता महिला तर्फका सियोन स्कुल र पुरुष तर्फका डिपो स्कुलले नगद दुई हजार रुपैयाँ, ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि माथि पनि दुवै तर्फ होलिल्याण्ड स्कुलले नै कब्जा जमाएका छन् । पुरुष तर्फ युडि लिम्बु र महिला तर्फ सन्ध्या राई उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै गरी उदयीमान खेलाडीमा महिला पुरुष दुवै तर्फ आयोजक सियोन स्कुलका सम्झना राई र संयोग राई घोषित भए ।

उनीहरूलाई जनही नगद एक हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान १६ नं वडाका वडाध्यक्ष मुरारि भट्टराई, सियोन स्कुलका अध्यक्ष खड्क थापा मगर, प्रदेश १ बास्केटबलका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, मुवाथाइ किक वक्सिङ्गका सुनसरी अध्यक्ष एलकोन मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको सेमिफाइनलमा महिला तर्फ सियोन स्कुलले चिल्ड्रेन स्कुललाई र होलिल्याण्ड ए ले होलिल्याण्ड वि टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । त्यस्तै गरी पुरुष तर्फ डिपो स्कुलले आयोजक सियोन स्कुल र होलिल्याण्ड स्कुलले तरहरा ए टिमलाई परिजित गर्दै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा यसै वर्ष एसइई दिएका विद्यार्थी सम्मका पुरुष तर्फ १२ टिम र महिला तर्फ ५ टिमले सहभागिता जनाएको थियो ।