धरान : मोरङको विराटनगर महानगरपालिका-१५ बाट तरकारी बोकेको गाडीबाट ६ बोरा गाँजा बरामद भएको छ । 

गएराती साढे १० बजे विराटनगर रानी भन्सारको २ नम्बर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ बन्दाकोबी बोकेर जाँदै गरेको प्रदेश १-०२-००१ ख ८६७७ नम्बरको मिनी ट्रकलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा  बोराले छोपी लुकाई राखेको अवस्थामा ६ बोरा (१५६ किलोग्राम) गाँजा बरामद गरेको हो । 

सङ्खुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा लोड गरेर भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले विराटनगर-१५ रानीस्थित २ नं. ढाटबाट बरामद गरेको हो ।

पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारतमा महँगो मूल्यमा बिक्री वितरण हुने भएकोले यसको तस्करी हुने गरेको छ । बारीमा किसानले १ किलोको २५ सय देखि चार हजार रुपैयाँसम्म पाउँछन् । विराटनगर पुग्दा २० हजार पुग्छ भने भारत पुग्दा ४० देखि ५० हजार भन्दा बढीमा कारोबारी हुने भएकोले गाँजाको तस्करी हुने गरेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् ।

अवैध गाँजा बरामद भए सँगै ट्रक र चालक शहिदभुमि गाउँपालिका-३ धनकुटाका विवेक राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भइरहेको छ ।