धरान : यलम्वर बास्केटबल क्लबको आयोजनामा आयोजित यलम्वर समर बास्केटबल लिगको उपाधि एनाइलेर्टस बास्केटबल टिमले चुमेको छ ।

असार ८ गते देखि सुरु भएको एक महिना भन्दा लामो लिगको शनिवार भएको फाइनल खेलमा एनाइलेर्टसले वुल्भस बास्केटबल टिमलाई ८८–८० अङ्कको अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

प्रतिस्पर्धात्मक भएको फाइनल खेलको पहिलो क्वाटरमा वुल्भस टिमको तालमेल नमिल्दा एनाइलेर्टस सँग ३१–१६ अङ्कले पछि परेको थियो । एनाइलेर्टसलाई रोक्दै वुल्भसले १६–१७ अङ्क जोड्दै दोस्रो क्वाटरमा भने झिनो अन्तर बनाएका  थिए । मध्यान्तर पछि तेस्रो क्वाटरमा एनाइलेर्टसले खेललाई नियन्त्रणमा लिँदै ३२–२४ अङ्कको अन्तर बनाउँदै अग्रतालाई कायम राखेका थिए । अन्तिम चौथो क्वाटरमा वुल्भसले १९– २३ जोड्दै खेलमा फर्किने कोसिस गरे पनि सफल हुन सकेन ।

समर लिग भरि उत्कृष्ट प्रदर्शन गरेका एनाइलेर्टसका विवेकमनि श्रेष्ठले उपाधि जिताउन व्यक्तिगत ३० अङ्क जोडे । उनले उपाधि सँगै उत्कृष्ट खेलाडीको उपाधि समेत जिते । वुल्भसको तर्फ वाट उत्कृष्ट प्रदर्शन गरेका दिवस राईले समेत व्यक्तिगत ३० अङ्क जोडेका थिए । उनले लिग भरि हाइस्कोर गर्दै हाइ स्कोररको उपाधि जिते । उनले समर लिगमा आठ खेल वाट ३ सय २२ अङ्क व्यक्तिगत जोडेका थिए । फाइनल खेलको उत्कृष्ट खेलाडी एलाइनेर्टसका सिसिर राई घोषित भए । फाइनल खेलमा उनले व्यक्तिगत २८ अङ्क जोडे । उनीहरूलाई ट्रफि प्रदान गरिएको थियो ।

समर लिगका विजेता तथा उपविजेता टिमलाई ट्रफि प्रदान गरिएको थियो । उनीहरूलाई धरान बास्केटबल सङ्घका संस्थापक पूर्व बास्केटबल खेलाडी डिएसपी खगेन्द्र रिजाल, प्रदेश १ बास्केटबल मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, पूर्व बास्केटबल खेलाडी देवराज राई, सहयोग दाता भीम राई, धरान बास्केटबल सङ्घ सदस्य हेमन्त राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

लिगको फाइनल खेलको मध्यान्तरमा थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो । थ्री पोइन्ट कम्पिटसनको उपाधि वुल्भस टिमका दिवस राईले जिते । उनले सात सटमा ५ बास्केट गर्दै उपाधि जितेका हुन । उनको प्रतिस्पर्धीले ३ बास्केट गरेका थिए । विजेता राईलाई ट्रफि प्रदान गरिएको थियो ।

यलम्वर समर बास्केटबल लिग रनिङ्ग कपको रूपमा निरन्तर आयोजना हुने लिगका संयोजक युगल लिम्बूले जानकारी गराए । दोस्रो संस्करण थप व्यवस्थित रूपमा आयोजना हुने बताए । लिगको सम्पूर्ण खेल धरान ८ यलम्वर खेल मैदानमा सम्पन्न भएको थियो ।