धरान : होलिल्याण्ड स्कुल, चिल्ड्रेन एकेडेमी, कार्मेल र टावर टेम्पल स्कुल बिर्तामोड स्कुल प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वर्षाको कारण तेस्रो दिन पनि धरान १६ स्थित कर्भडहलमा खेलाइएको क्वाटर फाइनल खेलमा होलिल्याण्ड स्कुलले सगरमाथा स्कुललाई ५२–२१, चिल्ड्रेन एकेडेमीले केके स्कुललाई ४५–१८, कार्मेल स्कुलले लोटस स्कुललाई २१–१४ र टावर टेम्पलले सियोन स्कुललाई २५–१६  अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो क्वाटर फाइनल खेलमा चिल्ड्रेन र सगरमाथा स्कुलले प्रत्येक क्वाटरमा ९–५, २०–६, ६–४ र १७–६ अङ्क जोडेका थिए । दोस्रो खेलमा चिल्ड्रेन र के के स्कुलले ८–२, १६–२, ११–४ र १०–१० अङ्क जोडे ।

यसै गरी तेस्रो क्वाटर फाइनल खेलमा कार्मेल र लोटस स्कुलले ७–१, ८–०, २–६ र ४–७  अङ्क जोडे । अन्तिम खेलमा टावर टेम्पल र सियोन स्कुलले ३–२, ९–२, ६–२ र ७–१०अङ्क जोड्दै सेमिफाइनल प्रवेश गरे ।

भोलि हुने पहिलो सेमी फाइनल खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुल र दोस्रो सेमिफाइनल खेल होलिल्याण्ड स्कुलले टावरटेम्पल स्कुल बिर्तामोड सँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा धरान र धरान बाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगिताका विजेता टिमले नगद पन्ध्र हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल श्रावण २० गते हुने आयोजकले जनाएको छ ।