धरान : धरानका मेयर हर्क साम्पाङले हर्क साम्पाङसंग टक्कर लिन खोज्यो भने व्यक्ति मात्रै होइन दलनै सिद्धिने बताए । 

बुधवार दिउसोसर्दुखोलामा माइक्रो मिनी हाइड्रो पावर हाउस बन्दै गरेको स्थलमा संचाकर्मीहरुसंग सो कुरा बताएका हुन् । उनले अहिले सम्म कुनै पनि दललाई तोकेर नदोसेको दाबी गर्दै आफ्नो अभियानलाई निस्तेज पार्नका लागि केही अराजक तत्त्व भिजिलान्तेहरुले आफूलाई तगारो लगाउन खोजेको भन्दै मेयर साम्पाङले भने -'मेरो खुट्टा तान्न खोजिएको होला म उड्ने मान्छे हुँ, खुट्टाले हिडने मान्छे होइन ।'

बराह पीडितको प्रसङ्गमा मेयर साम्पाङले आफू जहिल्यै पनि पीडितको पक्षमा रहेको र अहिले पनि आफू पीडितले न्याय पाउनुपर्छ भन्ने नै रहेकोले धरान उपमहानगरपालिकाले बराहको सबै सम्पत्ति रोक्काको लागि सम्बन्धित निकायलाई पत्राचार गरेको बताए । तर अराजक तत्त्वहरूले आफू विरुद्ध मुर्दावादको नारा समेत लगाउँदै आफ्नो कार्यकक्षको झ्यालको सिसा समेत तोडफोड गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । त्यसैले ती अराजक तत्त्वहरूको कानुनी उपचार हुनुपर्ने पक्षमा आफू रहेको समेत बताए । 

श्रमदान गर्ने दैनिक बढ्दै : 

धरानका मेयर हर्क साम्पाङले चलाएको अभियानमा श्रमदान गर्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । 

केही दिन अघि मेयर साम्पाङको विरुद्धमा बराह पीडितहरूले मुर्दावादको नारा लगाएपछि मेयर साम्पाङको अभियानमा असर पुग्छ की भन्ने थियो । तर मेयरको विरोध पछि झन् धेरै श्रमदान गर्नेहरू बढेको मेयर साम्पाङको अभियानमा सक्रिय दत्त लिम्बुले बताए । दुई दिन पानी परेकोले श्रमदान गर्न आउन नपाउनेहरू बुधवार सयौँको सङ्ख्यामा सर्दु खोला पुगेका थिए । 

धरानको सर्दु, खर्दु र निशाने खोलामा अहिले मेयर साम्पाङको अभियान अन्तर्गत अहिले सर्दु खोलाबाट माइक्रो मिनी हाइड्रो पावर हाउस बनाउने क्रम धमाधम भइरहेको छ । यहाँ पावर हाउसको टरर्बाइन जडान गर्ने स्थलमा अहिले सर्वसाधारण श्रमदानमा जुटेका छन् । 

पावर हाउसको काम अबको हप्ता दश दिन भित्रमा सम्पन्न भइसक्ने माइक्रो मिनी हाइड्रो पावरका लागि काम गरिरहेका तर्कबहादुर मगरले बताए । अहिले पावर हाउस बनाउने ठाउँमा तीव्र गतिमा काम भइरहेको छ । 

Sramadan