धरान : धरान-१५ स्थित होलिल्याण्ड स्कुल प्रदेश १ स्तरीय अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको च्याम्पियन वनेको छ ।

शुक्रवार भएको फाइनल खेलमा होलिल्याण्ड स्कुलले चिल्ड्रेन एकेडेमीलाई ४४–३३ अङ्कको अन्तरले पराजित गर्दै रनिङ्ग कप उपाधि माथि कब्जा जमाएको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा होलिल्याण्डले अग्रता बनाउँदै उपाधि माथि कब्जा जमाउन सफल भएका हुन ।

खेलको प्रत्येक क्वाटरमा होलिल्याण्डले १३–६, ८–७, १२–११ र ११–९ अङ्कको अन्तर बनाएको थियो । खेलमा होलिल्याण्डका युडि लिम्बुले व्यक्तिगत १५ अङ्क जोडे भने चिल्ड्रेनका पारुहाङ्ग लिम्बुले २० अङ्क जोडेका थिए ।

होलिल्याण्ड स्कुलले उपाधि सँगै नगद पन्ध्र हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै गरी उपविजेता चिल्ड्रेन एकेडेमीले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । उनीहरूलाई कार्यक्रमका सभाध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बर बहादुर लिम्बु, विद्यालय शैक्षिक गुठी कार्यसमिति कार्यवाहक अध्यक्ष लेफ्टिनेन्ट भिमवहादुर लिम्बु, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होलिल्याण्डका युडि लिम्बु घोषित भए । यसैगरी प्रतियोगिताभरिका हाइ स्कोररको उपाधि होलिल्याण्डकै इङवाहाङ लिम्बु घोषित भए । उनले प्रतियोगिताभरि चार खेल वाट व्यक्तिगत ७७ अङ्क जोडेका थिए । उनीहरूलाई जनही दुई हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा साउन १५ गते देखि प्रतियोगिता सुरु भएको थियो । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिवङ्गत मेजर श्रवणकुमार लिम्बुको सम्मान तथा स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको हो । लिम्बुको ८३ वर्षको उमेरमा विस २०७८ श्रावण १५ गते निधन भएको थियो । प्रतियोगितामा धरान र धरान बाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

शुक्रवार भएको फाइनल खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १ न. प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री विष्णु तुम्वाम्फेले रेफ्रिलाई बल हस्तान्तरण गरी गरेका थिए । कार्यक्रममा डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राई, विद्यालय व्यवस्थापन समिति सदस्य सूर्यप्रकाश पन्धाक, उपासी राई, इन्द्ररानि सुब्बा, सुनसरी बास्केटबल सङ्घका कोषाध्यक्ष गौरवमान श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।