धरान : धरानका मेयर हर्क साम्पाङको लागुऔषध विरुद्धको अभियान से नोटु ड्रग्स अभियानले व्यापकता पाउन थालेको छ । 

शुक्रवार धरानको बरगाछीमा भएको अभियानमा युवा देखि वृद्ध सम्मका मानिसहरूको व्यापक सहभागिता रहेको थियो । अभियानलाई सम्बोधन गर्दै मेयर साम्पाङले भने धरानमा पछिल्लो समय विभिन्न आपराधिक घटनामा संलग्न भएका युवाहरू मध्ये अधिकांश लागु औषध सेवन तथा प्रयोगकर्ता रहेको बताए ।

धरानको इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका मध्ये ६० प्रतिशत लागुऔषधकै कारण पक्राउ परेकाहरू भएको भन्दै धरानलाई लागुऔषध मुक्त सहर बनाउने यो अभियानमा सबै लाग्नुपर्ने बताए । 

मेयर साम्पाङको चार वटा अभियान मध्ये पहिलो सरसफाइ अभियान, दोस्रो बृक्षरोपण अभियान, खानेपानी समस्या समाधान अभियान र लागुऔषध विरुद्धको अभियान रहेको बताउँदै हरेक साता शुक्रवार यो अभियान धरानका विभिन्न स्थानहरूमा सञ्चालन हुँदै आएको हो । 

मेयर साम्पाङको यो अभियानले पछिल्लो समय विभिन्न सङ्घ संस्था र बालबालिका देखि बृद्धबृदा सम्मको सहभागिताले व्यापकता पाउन थालेको छ । सप्ताहव्यापी यो अभियानले जति जति व्यापकता पाउँछ त्यति यसको प्रभावकारिता बढेर जाने मेयर साम्पाङको दाबी छ । अभियानको क्रममा पछिल्लो समय विभिन्न रचनाहरू पनि प्रस्तुत हुन थालेका छन् ।