चतरा : वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा औलिया ज्वेलर्समा सुनचाँदी चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 
इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले चोरी भएको १२ घण्टा बित्न नपाउँदै चोरी गर्न व्यक्तिलाई सामग्रीहरू सहित पक्राउ गरेको थियो।
चोरीगर्ने वराहक्षेत्र १ बस्ने २६ वर्षीय अनिल बराइली रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजेश दत्तले बताए।
शुक्रवार राती पक्की घरमा रहेको औलिया ज्वेलर्समा घर पछाडि काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली अनुसन्धानमा जुटेको थियो ।
घटनाको सूक्ष्म अनुसन्धान गर्ने क्रममा प्रहरीले चोरी भएको १२ घण्टामै शुक्रवार दिउँसो साढे २ बजे चोरीमा संलग्न बराइलीलाई पक्राउ गरेको प्रहरी निरीक्षक  दत्तले जानकारी दिए।
अनुसन्धान गर्ने क्रममा शङ्कास्पद रहेका अनिल बराइलीको घरको कोठा भित्र खानतलासी गर्दा दराज पछाडि कालो झोलामा लुकाई छिपाई राखिएको चोरीको सुनका गरगहनाहरू ६ तोला ८३ लाल  सुन र चाँदीको गरगहनाहरू २९७ तोला अर्थात् १० लाख ४० हजार ५९० रुपैयाँ बराबरको गरगहना बरामद भएको हो ।
चोरिएका सुनको गरगहनाहरू बरामद भए सँगै अनिल बराइलीलाई नियन्त्रणमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दत्तले बताए ।