सुकदेब चौधरी 

सुनसरी : सुनसरीको सदरमुकाम इनरुवा स्थित इनरुवा अस्पतालले पछिल्लो समयमा आफ्नो विभिन्न प्रविधि र सुविधा भित्र्याउन क्रममा शनिवार देखि इको र इन्डोस्कोपी सेवा सुचारु गरेको छ । 

अस्पतालमा पेट आन्द्रा कलेजो तथा मुटु सम्बन्धी रोग जाँच गराउन आउने बिरामीहरूलाई लक्षित गरी इको र इन्डोस्कोपी मेसिन जडान गरी एक कार्यक्रमको बिच जिल्ला समन्वय समितिका सभापति राजन मेहता र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे सँगै सो सेवा सुचारु भएको हो । 

कार्यक्रमका अध्यक्ष तथा अस्पतालका मेसु डा. देवराज घिमिरेले आफू बिमा रकम पहल गर्नका लागि सूचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सँग आग्रह गर्न गएको अवस्थामा अस्पतालको अवस्था बारेमा सोधखोज गर्दा थप सेवा विस्तारको लागि इको र इन्डोस्कोपी मेसिन ल्याउन सफल भएको बताए । उनले सो मेसिन ल्याउनका लागि सभासद् सिताराम मेहता, प्रदेश सभासद् राजीव कोइराला तथा इनरुवाका मेयर समेतको ठुलो भूमिका रहेको जानकारी दिए । 

तत्काल यी सेवाहरू सञ्चालन गर्नका लागि विराटनगरको नोबेल अस्पतालका पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ एमडी डिएम डाक्टर मोहन खड्काले निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य परीक्षण गरी सामाजिक सेवाको भावनाले अस्पतालमा सहयोग स्वरूप सेवा लिन आएका बिरामीको इको तथा इन्डोस्कोपी गराई रहनु भएको मेसु घिमिरेले जानकारी दिए । 

सोही उद्घाटन कार्यक्रममा नगर प्रमुख भण्डारीले इनरुवा नगर क्षेत्र भित्र रहेको गरिब विपन्न वर्गका लागि नगरले छुट्ट्याएको २० लाख रुपैयाँको सेवा लिन अस्पताललाई जहिले पनि सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले इनरुवा आसपास क्षेत्रका बिरामीहरूलाई इनरुवा अस्पतालको सेवा लिनका लागि नगरपालिकाबाट हुन सक्ने सहयोग सहकार्य तथा साथ रही रहने बताए ।

त्यसै गरी स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले इनरुवामा रहेको ५० बेडको इनरुवा अस्पतालमा विभिन्न चुनौतीका बाबजुद मेसु घिमिरेको निरन्तर प्रयासले इको र इन्डोस्कोपी सेवा विस्तार गरी थप सुविधाहरू दिन सफल भएको बताए । पछिल्लो समयमा इनरुवा अस्पतालले सेवाग्राहीको विश्वास जित्न प्रविधि तथा विशेषज्ञहरू ल्याएर थप सेवा विस्तार गर्दै गई रहेकोले यसलाई निरन्तर र नियमित गर्न सबैको साथ सहयोगको जरुरी रहेको प्रमुख प्रसाईँले बताए ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकाल, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र साह, नेकपा एमाले सुनसरीका नेता परशुराम यादव, अस्पताल विकास समितिका तोया गिरी लगायतको उपस्थिति रहेको थियो ।

Inaruwa-hospital-1