धरान : गत श्रावण ८ गते कोसी टप्पु वन्यजन्तु आरक्षभित्र रुखले किचेर मृत्यु भएका धरान-११ का धिरज तामाङको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत रकम हस्तान्तरण गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतक तामाङको परिवारलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । 
परिवारलाई सानो भएपनी राहत होस भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । थप आर्थिक सहायताकालागी गृह मन्त्रालयमा अनुरोध पत्र पठाएको उनले जानकारी दिए । 
नेपाल प्रहरीको प्रहरीको लिखित परीक्षा दिएर मौखिक परीक्षाको तयारी गरिरहेका तामाङ साथी सँग आरक्ष भित्र घुम्न गएका थिए । आरक्षमा  प्र १-०२-०४४ प ६६८१ नं. को स्कुटरमा  घुम्ने क्रममा दक्षिणबाट उत्तर तर्फ जाँदै गर्दा सुकेको सिसौको रुख अचानक ढलेर उनलाई किचेको थियो । रुख किचेका तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने उनसँग गएका वराहक्षेत्र-५ का २८ वर्षीय संगेन्द्र विष्टलाई ढाडमा चोट लागेको थियो ।  
आरक्ष भित्र रहेका पुराना रुखहरू धरापको रूपमा रहेको नेपाली काँग्रेस जिल्ला सचिव माधव घिसिङले बताए । राहत हस्तान्तरणकालागी सुनसरी प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली काँग्रेसका महामन्त्री उमेश थापा, निवर्तमान मेयर तिलक राई, नेपाली काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, धरान नगर सभापति श्याम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।