धरान : धरानका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत धरानको खानेपानीको लागि युकेमा रहेका धरानवासीले आइतबार लाखौँको खानेपानीको पाइप खरिद गरेर मेयरलाई हस्तान्तरण गरेका छन् । 

आइतबार  मेयर साम्पाङलाई भूतपूर्व ब्रिटिस आर्मी २११५३७४३ नम्बरका बलबहादुर दुमी राई र नरशोभा चाम्लिङबाट १२ इन्चे ३० मिटर पाइप, सुनुवार परिवार युकेबाट १० इन्चे ३४ मिटर पाइप, अमरबहादुर मुदेनछाङले १० इन्चे पाइप २७ मिटर र चिताहाङ आङ्बुहाङ ग्रुप युकेबाट १० इन्चे पाइप ७४ मिटर गरी जम्मा ७ लाख ३४ हजार १ सय २ रुपैयाँ बराबरको पाइप हस्तान्तरण भएको छ । 

धरान खानेपानी आयोजनाको कार्यालय परिसरमा युकेमा बसोबास गर्ने धरानवासीको परिवारले पाइप खरिद गरेर हस्तान्तरण गरेका हुन् । 

धरानको खानेपानीको लागि अहिले सम्म २४ लाख ७९ हजार ३ सय ५३ रुपैयाँ बरावरको खानेपानीको पाइप सहयोग देश विदेशबाट आएको बताइएको छ । सहयोग आएका पाइपलाई अहिले धरानको सर्दु, खर्दु र निशाने खोलामा भइरहेको खानेपानी मुहान सुधार तथा अभियानमा प्रयोग गरिने बताइएको छ । 

खानेपानीको पाइप हस्तान्तरणको क्रममा मेयर साम्पाङले देश विदेशबाट सहयोग गर्ने श्रमदाता र सहयोगीहरूलाई धन्यवाद दिए । सबैको साथ सहयोगबाटै अहिले धरानमा हरेक दिन खानेपानीको लागि श्रमदान चलिरहेको र धरानेलाई खानेपानी खुवाउने अभियानले सफलता पाउँदै गएको बताए । यो अभियानमा साथ दिने सबैलाई मेयर साम्पाङले धन्यवाद ज्ञापन गरे ।