दमक : दमकमा निर्माणको अन्तिम चरणमा पुगेको दमक सभागृहको नाम शिलान्यास समयकै समयको फाल्गुनन्द सभा गृह नामकरणको लागी आफूले पहल गर्ने दमक नगरपालिकाका प्रमुख राम थापाले प्रतिबद्धता जनाएका छन् ।
२८ औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासङ्घ दमक नगर समितिले मंगलबार आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले आफू आदिवासी जनजातिको पहिचान र अस्तित्वलाई स्थापित गर्न लागि पर्ने बताए । नगर प्रमुख थापाले सभागृहको शिलान्यासको समयमा रहेको नाम फाल्गुनन्द सभागृह नै कायम गर्ने गरी नगर कार्यपालिका बैठकमा प्रस्ताव लैजानै जानकारी दिए ।
कार्यक्रमका वक्ताहरूले दमकमा निर्माण गर्ने भनिएको आदिवासी सङ्ग्रहालय, कमलको आदिवासी रङ्गशाला र दमकमा निर्माण सम्पन्न हुन लागेको दमक सभागृहको नाममा आदिवासीको पहिचान मेटाउने काम गरेको गुनासो गरेपछि नगर प्रमुख थापाले आफूहरू सबैको अभिभावक बन्ने बताउँदै दमक सभागृहको नाउँ फाल्गुनन्द सभागृह नै कायम गराउने प्रतिबद्धता जनाएका हुन ।
आदिवासी जनजाति महासङ्घ दमक नगर समिति अध्यक्ष गुमानसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातजातिहरूको सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो ।
दमक-८ स्थित कस्मिक पार्टी प्यालेसमा औपचारिक कार्यक्रम गर्नु अघि आदिवासी जनजातिहरूको झाँकी सहित दमक नगर परिक्रमा गरिएको थियो । त्यस पछि भएको औपचारिक कार्यक्रममा दमक नगर प्रमुख राम थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दमक नगर उप प्रमुख रेगिना भट्टराई, आदिवासी जनजाति नेताहरू नित्यानन्द ताजपुरीया, मोहन धिमाल लगायतको उपस्थिति रहेको थियो ।