धरान : नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको देशव्यापी बजार अनुगमनको क्रममा बुधवार धरानमा पनि बजार अनुगमन भएको छ । 

इलाका प्रशासन कार्यालय धरानको नेतृत्वमा भएको बजार अनुगमनमा धरानका मुख्य बजार क्षेत्रहरू धरान-३ को माछाभौडी, माछा लाइन, सदन रोडका केही किराना पसलहरू, भेटनगरी पसलहरू र मासु पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा जफत गर्नुपर्नेगरीको सामाग्री फेला नपरेको भए पनि केही बिस्कुटजन्य बस्तुमा म्याद गुज्रेको फेला परेको थियो । 

अनुगमनमा खटिएका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले अनुगमनको क्रममा सबै भन्दा बढी मासु पसलमा समस्या देखिएको बताएका छन् । कुहिएको मासु फ्रिजमा राखिएको र नछोपी खुल्ला राखिएको मासु फेला परेको थियो । अनुगमन टोलीले अर्को पटक अनुगमन गर्न आउँदा मासु पसलमा सुधार भएन भने जफत र कारबाही गर्ने चेतावनी दिइएको पनि प्रमुख कोइरालाले बताए । 

धरानमा बजार अनुगमनलाई निरन्तरता दिनकालागि धरान उपमहानगरपालिकाले निरन्तर बजार अनुगमन गर्ने धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले बताए । 

बजार अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चूडाराज भट्टराई, सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका प्रतिनिधि, प्रहरी, नगर प्रहरी, धरान उपमहानगरपालिकाको पशु सेवाका प्रतिनिधि र कृषि अधिकृत लगायत रहेका थिए ।