धरान : धरानका मेयर हर्क साम्पाङको भिजनमा बिहीबार देखि धरानको सर्दु खोलाबाट बिजुली उत्पादन भएको छ । 

मेयर साम्पाङको भिजनमा करिब १० दिनमा ७५० वाट क्षमताको टर्वाइन जडान गरी प्रोटो टाइपको मिनी माइक्रो हाइड्रो पावर सञ्चालनमा आएको छ । मेयर साम्पाङले रिबन काटेर पावर हाउसको उद्घाटन गरेर स्विच अन गरी बिजुली बालेर पावर हाउसको उद्घाटन गरे । 

निकै बाक्लो सर्वसाधारणको उपस्थिति रहेको उद्घाटन कार्यक्रममा बोल्दै मेयर साम्पाङले पावर हाउस निर्माणमा अहोरात्र खटिने तर्कबहादुर मगर र खानेपानीमा खटिने दत्तकुमार लिम्बूलाई धन्यवाद दिए । मेयर साम्पाङले तरकारीमा नुन लाग्यो की लागेन भने जान्नका लागि थोरै चाख्नुपर्छ । त्यसैगरी धरानमा हाइड्रो पावर सञ्चालन गर्न तरकारीमा नुन चाखे जस्तै सानोबाट परीक्षण गरेर थालनी गरेको बताए । उनले धरानमा थुप्रै आफ्नो योजनाहरू रहेको र सो योजनाहरू पुरा गर्नका लागि सबैको साथ सहयोग जरुरी रहेको बताए । 

धरानमै पहिलो पटक बिजुली उत्पादन गरेकोले यो धरानेको खुशी भएको बताउँदै अबको आफ्नो योजना धरानमा माया धराने नामको साबुन उत्पादन गर्ने र सो साबुन उद्योगबाट बेरोजगारलाई पनि रोजगार दिने बताए । त्यो सँगै हिउँदको समयमा हावाबाट बिजुली निकाल्ने पनि आफ्नो योजना रहेकोले अव यसप्रति पनि तयारी हुन सहयोगीहरूलाई आग्रह गरे । 

पावर हाउसको उद्घाटनमा उपमेयर आइन्द्र विक्रम बेघा पनि सर्दु खोला पुगेका थिए । उनले पनि मेयर साम्पाङको अभियानको खुलेर प्रशंसा गरे । यो प्रोटो टाइपको मिनी माइक्रो हाइड्रो पावर हाउस भएकोले यसबारेमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई ठुलो अध्ययन गर्ने थलो भएको छ ।