धरान : धरान १५ श्यामचौकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले बिहीबार अपराह्न ४ बजे तिर मोरङको केराबारी ६ का रजिस राई, धरान १६ का सुदेश विश्वकर्मा र सुन्दरहरैचा ५ मोरङका निश्चल श्रेष्ठलाई संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

रेडपाण्डाको छाला सङ्खुवासभाबाट ल्याएर बिक्री गर्न लागिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्नका लागि वनसँग सम्बन्धित भएकोले बन कार्यालय तरहरा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । पक्राउ परेकाहरूको अनुसन्धान भइरहेको बताइएको छ ।