भद्रपुर : झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सुधारका लागि यहाँका राजनीतिक दलहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अस्पतालका विविध क्षेत्रमा भएका समस्याको सुधारका लागि मेची प्रादेशिक सुधार समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यहाँका राजनीतिक दलका प्रतिनिधिहरूले अस्पताल सुधारका लागि गर्नुपर्ने हर प्रकारको सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अस्पताल सुधार समितिका अध्यक्ष दीपक तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा छ वटा दलका प्रतिनिधिहरूले सुधार समितिले राम्रो कामको थालनी गरेको र सो कार्यमा आफूहरूको पूर्ण समर्थन हुने जनाएका थिए ।

अन्तरक्रियामा अस्पताल सुधारका लागि राजनीतिक दलको धारणा, सुधार समितिलाई हेर्ने दृष्टिकोण, सुधार र स्तरोन्नति लगायतका विषयमा छलफल गरिएको थियो ।

समितिका अध्यक्ष तिम्सिनाले सुधार समितिले हालसम्म गरेका कामकारबाहीका बारे जानकारी गराएका थिए । उनले समितिबारे केही प्रश्न, जिज्ञासा भए सो पनि राख्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसबाट भक्त खवास, नेकपा एमालेबाट असारु राजवंशी, नेकपा माओवादी केन्द्रबाट राजु आचार्य (अग्नि), डिल्ली घिमिरे (हिक्मत), शिवकुमार राजभण्डारी, जनता समाजवादी पार्टीबाट निरबहादुर राई, नेकपा एकीकृत समाजवादीबाट देवी अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सागर घिमिरे लगायतले मेची अस्पतालका समस्या समाधान गर्न राजनीतिक दलका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूले सबै राजनीतिक दलले अस्पतालको स्तरोन्नतिका लागि काम गर्नुपर्नेमा जोड दिए ।

सुधार समितिले अस्पतालको सुधारका लागि ३६ बुँदे माग सहित ज्ञापन पत्र अस्पताल प्रशासन, व्यवस्थापन समिति, भद्रपुर नगरपालिका, प्रदेश नं. १ को स्वास्थ्य मन्त्रालयलाई बुझाइसकेको सुधार समितिका फोकल पर्सन राजेश गुप्ताले जानकारी दिए । कार्यक्रमको संयोजन संवाद समूह झापाले गरेको थियो ।