धरान : धरानमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या घटाउनका लागि अव धरानका हरेक विद्यालयहरूमा लागुऔषध सम्बन्धी ब्रिफिङ अनिवार्य विद्यार्थीलाई दिनुपर्ने नियम राखिने भएको छ । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको लागुऔषध दुव्र्यशन विरुद्धको से नो टु ड्रग्स अभियानको क्रममा शुक्रवार धरानको मङ्गलवारे चोकमा आयोजित कार्यक्रम पछि प्रतिक्रिया दिँदै धरानमा लागुऔषध दुर्व्यसनलाई नियन्त्रण गर्नका लागि अव विद्यालयबाटै अभियान थाल्ने मेयर साम्पाङले बताए ।

अभियानको क्रममा विभिन्न लागुऔषध विरुद्धका रचनाहरू पाठ गरिए पछि कार्यक्रममा सहभागी बालबालिकाहरूसँग सामूहिक तस्बिर समेत खिचेका थिए । 

सो क्रममा उनले भने–यिनै बालबालिका नै भविष्यका कर्णधार भएकोले बालबालिकालाई लागुऔषधको बारेमा जानकारी दिने गरी र समयमै कुलतमा फस्न नदिनका लागि विद्यालयबाटै लागुऔषध विरुद्ध धरानका प्रत्येक विद्यालयमा अनिवार्य १५,२० मिनेट ब्रिफिङ अनिवार्य गर्नुपर्ने नियम लागु गर्ने धरान उपमहानगरपालिकाले निर्णय गर्ने पनि मेयर साम्पाङले बताए ।

ब्रिफिङ मात्रै नभएर लागुऔषध दुर्व्यसन विरुद्धको विषय पाठ्यक्रममा पनि समावेश गर्ने योजना रहेको बताउँदै अव धरानका विद्यालयहरूमा लागुऔषध र ट्राफिक नियम सम्बन्धी विशेष अभियान सञ्चालन गर्ने पनि मेयर साम्पाङले बताए ।