धरान : नेपाल तरुण दल धरान नगर कार्यसमितिले वडा नं. १७ स्थित रेल्वे चौकमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  
शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तरुण दल नगर कार्यसमितिले बृहत् रक्तदानको कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा २ सय ५ (पिण्ट) जनाले रक्तदान गरेको तरुण दल धरानका सभापति नरसिंह राईले जानकारी दिए । 
सभापति राईले प्रदेश १ का ब्लड बैङ्कहरूमा रगतको चरम अभाव भइरहेका बेला तरुण दलले बिरामीको उपचारमा सहजताका लागि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बृहत् रक्तदान आयोजना गरिएको बताए । 
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेस प्रदेश एकका महामन्त्री  उमेश थापाले प्रदेश १ का ब्लड बैङ्कहरूमा रगतको चरम अभाव भइरहेको बेला तरुण दल धरान नगर कार्यसमितिले बृहत् रक्तदानको आयोजना गरी ठुलो सहयोग पुर्‍याएको बताउँदै प्रशंसा गरे । 
कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, महासमिति सदस्य एवं निवर्तमान नगर प्रमुख तिलक राई, काँग्रेस जिल्ला सचिव माधव घिसिङ, काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, क्षेत्र नं. १ (क) र (ख) का सभापति द्वय अनिल श्रेष्ठ र मुरारी भट्टराई, काँग्रेस धरान नगर सभापति श्याम पोख्रेल, महासमिति सदस्य ममता योञ्जन लगायत नेताहरूले सम्बोधन गरेका थिए ।