धरान ; धरानका मेयर हर्क साम्पाङको अभियान पछिल्लो समय निकै लोकप्रिय हुनुको साथै जन सहभागिताले व्यापकता पाउन थालेको छ । 

धराने जनता मात्रै नभएर देशव्यापी सहभागिता हुन थालेको छ । मेयर साम्पाङको अभियानमा जनश्रमदान मात्रै नभएर आर्थिक सहयोग र अभियानलाई चाहिने उपकरण समेत सहयोग गर्ने दाताहरू बढ्न थालेका छन् । यही क्रममा शनिवार झापाको बाह्रदशी गाउँपालिकामा रहेको फाल्गुनन्द मदन कृषि फर्मका सञ्चालक मदन बेघाले व्यक्तिगतरुपमा धरानको अभियानलाई फलफूलका १५४५ बिरुवा एक गाडी मेयर साम्पाङलाई हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण गरिएको बिरुवाको मुल्य १ लाख ३२ हजार ७ सय ५० रुपैयाँको रहेको बताइएको छ । उनले बिरुवा मात्रै होइन अभियानमा खटनेहरुका लागि खाजा पानी खर्चको लागि नगद २० हजार रुपैयाँ पनि सहयोग गरेका छन् । 

बिरुवा हस्तान्तरणको क्रममा फाल्गुनन्द मदन कृषि फर्मका सञ्चालक मदन बेघाले धरानमा चलिरहेको अभियानले देश विदेशको ध्यान खिचेको बताउँदै सफलताको कामना व्यक्त गरे । 

मेयर हर्क साम्पाङले पनि बिरुवा हस्तान्तरण गरेकोमा फाल्गुनन्द मदन कृषि फर्म र सञ्चालक मदन बेघालाई धन्यवाद ज्ञापन गरे । उनले आफ्नो यो अभियानमा अहिले सम्म रोपिएका बिरुवाहरू सयमा ३ वटा मात्रै बिरुवा मरेको र बाकी सबै बाचिरहेको बताए ।

सर्दु, खर्दु र निशाने धरानको मुख्य जलाधार क्षेत्र भएकोले यो क्षेत्रको बनमारालाई फाँडेर विभिन्न प्रजातिको बिरुवा रोपेर हरियाली बनाएर पानीको स्रोत जोगाउनुको साथै जलाधार क्षेत्रको संरक्षण गर्ने बताए । 

पछिल्लो समय मेयर साम्पाङको अभियानमा श्रमदान गर्न आउनेको सङ्ख्या बढ्नुको साथै सहयोगीहरू पनि बढिरहेका छन् । मेयर साम्पाङको अभियान अन्तर्गत धरान २० को पकुवा खोलाबाट खानेपानी धरान ल्याइसकिएको छ भने अहिले सर्दु, खर्दु र निशाने खोलामा खानेपानी व्यवस्थापन र बृक्षरोपण भइरहेको छ । भर्खरै पूर्वमै पहिलो प्रोटो टाइपको मिनी माइक्रो हाइड्रो पावर ७५० वाटको सञ्चालनमा आइसकेको छ ।