धरान : झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शनिवार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे १ ह २९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भई हाल  सोही स्थान बस्दै आएका ४० वर्षीय उमेश चौधरीको साथबाट ४ ग्राम २०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

पक्राउ परेका चालकलाई सोधपुछ गर्दा अमरुवा गाउँपालिका-५ सिराहा घर भई हाल बिर्तामोड-३ बिर्ता बजारमा डेरा गरी बस्ने २७ वर्षीय प्रतीक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतीक्षाको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद भएको हो । 

यसैगरी शनिवार दिउँसो विराटनगर महानगरपालिका-१६, हुलास चौकमा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री मोरङ बेलबारी नगरपालिका-११ बस्ने ४५ वर्षीय प्रकाश बस्नेतलाई लागुऔषध ब्युरो विराटनगरबाट खटिएको टोलीले शङ्का लागि चेकजाँच गर्दा बस्नेतको साथबाट लुपिजेसिक १५ ऐम्पुल,फेनारगन १५ ऐम्पुल,डाईजोपाम १५ ऐम्पुल,ऐभिल १५ ऐम्पुल बरामद भएको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।