धरान : आज साउन महिनाको अन्तिम सोमबार आज धरान-१४ विजयपुरमा रहेको पिण्डेश्वर बाबाधाममा बोलबंम भक्तजनहरूको ठुलो भिड लागेको छ । 

हरेक वर्ष साउनको सोमबार बोलबंम मेला लाग्दै आएको पिण्डेश्वर बाबाधाम मन्दिरमा यो साउन महिनाको पहिलो हप्ता निकै ठुलो भक्तजनहरूको भिड भएको थियो भने दुई साता कमै मात्र भक्तजन आएका थिए । तर यो पछिल्लो दुई साता भने भक्तजनहरूको ठुलो भिड लागेको छ । आइतबार दिउसो देखिनै जल चढाउन आउने भक्तजनहरू मन्दिर परिसरमा आईपुग्ने र राती मन्दिर परिसरमै बसी मन्दिरको ढोका खोल्ने बित्तिकै जल चढाएर फर्किने भक्तजनहरू हुने बाबा धाम समितिले जनाएको छ । 

आइतबार राति ठुलो मेला लाग्ने गरेको पिण्डेश्वर बाबा धाममा यस पटक आज सम्ममा करिब ५ लाख भक्तजनले दर्शन गरेको पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपालीले बताए । यो वर्ष सोमबार मात्रै नभएर अरू बार पनि भक्तजनहरू मन्दिर आएकाले सोमबार ठुलो भिड नदेखिए पनि साउन महिना भर पिण्डेश्वर बाबा धाममा दर्शन गर्न आउने भक्तजन उल्लेख्य भएको अध्यक्ष बनेपालीले बताए ।

साउन महिनाको सोमबार मात्रै सधैँ भिड भाड हुने पिण्डेश्वरमा यो वर्ष अरू दिन पनि भिडभाड हुनुको साथै सोमबारको दिन जतिकै शनिवार पनि भक्तजनहरू मन्दिर आएको बताइएको छ । सोमबार मन्दिर परिसरमा भिड नदेखिनुको मुख्य कारण विगतमा बिहान साढे ४ बजे मात्रै मन्दिरको मुख्य ढोका खुल्ला गरिन्थ्यो भने यस पटक मध्यराति १२ बजे नै मन्दिरको ढोका खोलिएकोले पनि बिहान सम्ममा धेरै भक्तजनले जल चढाइसकेका हुन्छन् । 

पिण्डेश्वर बाबा धाममा साउनको सोमबार सप्तकोशी नदीबाट खाली खुट्टा जल ल्याई चढाएमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको छ ।  

आज पनि महाआरती र ताण्डव नृत्य हुने :

पिण्डेश्वर मन्दिर परिसरमा रहेको सरस्वती कुण्डमा आज साँझ पनि महाआरती हुने भएको छ । 

धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले दिएको जानकारी अनुसार यस भन्दा अघिका हप्तामा पनि महाआरती र ताण्डव नृत्य सम्पन्न भएको र आज पनि हुनेछ । अव देखि धरान १४ वडा कार्यालयको पहलमा महिनामा एक पटक महाआरती गर्ने योजना रहेको पनि अध्यक्ष भट्टराईले जानकारी दिए ।