इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको हिरासतबाट राजनीति गर्ने निर्णय लिएको बताएका छन् । पार्टीको सङ्गठन विस्तार तथा चुनावी तयारी अभियानको क्रममा इटहरी पुगेका उनले आफ्नो न्यायको लागि जनताले देखाएको त्यागलाई सम्मान गर्न राजनीतिमा आएको बताए । 
पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा लामिछाने पक्राउ परेका थिए । २०७६ साउनमा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनको फैसला पछि उनी ५ लाख धरौटीमा रिहा भएका हुन् । उनी हिरासतमा रहँदा उनको पक्षमा चितवनमा वृहत् प्रदर्शन भएको थियो । 
सोही दिनको सम्झना गर्दै उनले आफूमाथि जनताको विश्वास रहेको बताएका हुन् । ‘अधिकतम ५ वर्ष जेल बस्छु होला भन्ने लागेको थियो । बाहिर निस्केर राजनीतिमै होमिने सङ्कल्प गरेको थिएँ । त्यस बेला तपाईँहरूले देखाउनु भएको माया र सद्भावले मलाई दृढ संकल्पीत बनाएको थियो । त्यसैले म अहिले यहाँ आइपुगेको छु,’ सभापति लामिछानेले भने । 
सोमबार इटहरीमा आयोजित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अन्य राजनैतिक दलहरू विरुद्ध खरो उत्रिए । अधिकांश समय आलोचना मै खर्च गरेका उनले आगामी निर्वाचनमा कसैको अनुहार हेरेर नझुक्किन सबैसँग आग्रह गरे । 
इटहरीको इम्पेरियल होटेलमा आयोजित सभामा आगामी पुस्ताको जीवनको निर्णय यही निर्वाचनले गर्ने उनले सुनाए । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरानमा मेयर हर्क साम्पाङ समर्थकको सान्त्वना पाउने गरी दुवै स्वतन्त्रको प्रशंसा गरे । स्वतन्त्र रूपमा विजयी भएका युवाहरूकै लागि स्वतन्त्र पार्टी अगाडी बढ्ने उनले बताए । 
चियाको बाँकी तिर्न नसक्नेहरू अहिले हेलिकप्टर चढेर हिँड्ने हैसियतमा कसरी पुगे ? भन्दै उनले प्रश्न गरे । समग्र देश र जनतालाई समस्या पर्दा काम गर्ने ठाउँ आफूले बनाउने उनले विश्वास दिलाए । हिजो टेलिभिजनबाट कार्यक्रम सञ्चालन गर्दा जनताले गरेको विश्वासलाई गुम्न नदिन सामाजिक तथा राजनैतिक न्यायको लागि अगाडी बढ्ने सङ्कल्प गरे । 
rabi-lamichhane-3