धरान : धरानको सत्ता गठबन्धन दलको दलीय संयन्त्रको पहल र अगुवाइमा गएको धरान उपमहानगरका प्रमुख र उपप्रमुख सहितको प्रतिनिधि मण्डलले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री, वन तथा वातावरण मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्रीसँग भेट गरेको छ । 

प्रतिनिधि मण्डलमा धरानका मेयर हर्क सामपाङ, उपमेयर आइन्द्र विक्रम बेघा दलीय संयन्त्रका संयोजक किशोर राई, नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जसपाका नगर अध्यक्ष ताजुब लिम्बू, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई, नेपाली काँग्रेसका प्रदेश सदस्य गणेश परियार, नेकपा माओवादी केन्द्रका नगर सचिवालय सदस्य सिपी बजगाईँ रहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. ईस्तियाक राईसँगको भेटमा सर्दु पुलदेखि भन्ज्याङ सम्मको सडक निर्माण र सेउती खोला खांकरडाँडामा पक्की पुल निर्माणका लागि बजेट व्यवस्था गर्ने भएको छ । 

त्यसैगरी वन तथा वातावरण मन्त्री प्रदीप यादवसँगको भेटमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको भवन निर्माणका लागि  तिनकुनेस्थित लाङ्घाली सामुदायिक वनको ५ कठ्ठा जग्गा उपलब्ध गराउने भएको छ । 

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँगको भेटमा वीपी पार्क, सभागृह मर्मत, नाटक घर निर्माण, हेलिप्याड निर्माण, सप्तकोशी कटान नियन्त्रण, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिर लगायत बृहत्तर विजयपुर विकास समिति निर्माण, विष्णुपादुका, रामधुनी, बर्जू ताल लगायतका धार्मिक स्थललाई धार्मिक पर्यटनको रूपमा विकास गर्न ब्रान्डिङ गर्ने, पर्यटकीय खेलकुदलाई विकास गर्ने, धरान विमानस्थलको पृष्ठभूमिको अध्ययन गर्ने लगायतको विषयमा सकारात्मक छलफल भएको छ ।

प्रतिनिधि मण्डलमा जसपाका सङ्घीय अध्यक्ष अशोक कुमार राई, पूर्व प्रदेश प्रमुख  डा. गोविन्द सुब्बा, सांसद मिना सुब्बा, सांसद सिताराम महतो, राष्ट्रिय सभा सदस्य जयन्ती राई, जसपाका केन्द्रीय सदस्य भीम राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, काँग्रेसका नेताहरू डा. तुलसी गौतम, प्रेम राई, काठमाण्डौं सुनसरी सम्पर्क समितिका अध्यक्ष बाबुराम आचार्य लगायतको सहभागिता रहेको छ ।

Daliya-Pratinidhi-mandal-2