धरान : धरान-८ स्थित यलम्वर खेल मैदान संस्थामा दश वर्ष पछि पूर्व ब्रिटिस गोर्खा सैनिक क्याप्टेन अम्मर बहादुर पन्धाक लिम्बुको नेतृत्वमा सात जनाको नयाँ कार्यसमिति चयन भएको छ ।

यही वैशाख १० गते साधारण सभा वाट नयाँ कार्यसमिति चयन भए पनि केही दिन अघि मात्र नयाँ कार्यसमितिको पदस्थापना भएको थियो । समितिमा सचिव विष्णुकुमारी लिम्बु, कोषाध्यक्ष मोतीबहादुर लिम्बु, सदस्यहरूमा कमल लुम्फङवा, रमेश राई, उत्तम कुमार राई र युगल लिम्बु रहेका छन् । कार्य समितिको दुई वर्ष कार्यकाल भए पनि लामो सम्म संस्था निष्क्रिय भएपछि विशेष साधारण सभाको आयोजना गरी नयाँ कार्यसमिति चयन गरिएको संस्थाका एक सदस्यले जानकारी दिए ।

धरान ८ स्थित सिद्धार्थ मार्गका स्थानिय तथा पूर्व ब्रिटिस गोर्खा सैनिकहरूको सहकार्यमा करिब २०५१ सालमा सामाजिक संस्थाको रूपमा यलम्वर खेल मैदान संस्थाको स्थापना भएको हो । संस्थाले आर्थिक सङ्कलन गरी करिब साढे तिन कट्ठा जग्गामा व्यावसायिक भवन र बास्केटबल कोर्ट निमार्ण गरेको छ । संस्थामा एक सय ७१ जना सदस्यहरू रहेका छन् । हाल भवनका कोठा न्यूनतम दरमा भाडामा लगाइएको छ भने खेल मैदानमा बास्केटबल र भलिबल खेल खेल्न मिल्नेछ । भवनको एक कोठामा जिम हल समेत रहेको छ ।

संस्थाको विधान संशोधन गरी आवश्यकता अनुसार संस्थामा कार्यसमिति सदस्य सङ्ख्या थप तथा सल्लाहकार नियुक्ति गरी संस्थालाई विभिन्न सामाजिक कार्यमा अग्रसर गराइ चलायमान बनाउने साथै व्यवसायीक समेत बनाइने नवनिर्वाचित अध्यक्ष क्याप्टेन अम्मर बहादुर पन्धाक लिम्बुले बताए । आफ्नो कार्यकालमा हाल व्यक्तिको नाममा रहेको जग्गालाई संस्थागत बनाइ संस्थाको नाममा ल्याउने बताए ।

यसै गरी केही समय अघि व्यापक रूपमा सामाजिक सञ्जालमा यलम्वमर खेल मैदानमा रहेको बास्केटबल कोर्ट भत्काइने हल्ला चले पनि नयाँ कार्यसमिति चयन भए पछि रोकिएको छ ।

बास्केटबल कोर्ट भत्काइने हल्ला चलेपछि ८ न. वडाका युवा तथा खेलाडीहरूले पम्प्लेट सहित खेलमैदान अगाडि विरोध जनाएका थिए । यसले सामाजिक सञ्जाल र खेलाडीहरूमा व्यापकता पाउनुका साथै व्यापक रूपमा विरोधको तयारी समेत भइरहेको थियो । तर नयाँ कार्यसमिति चयन हुन साथ भत्काइने योजना नरहेको बताइएको छ ।

यति लामो समय सम्म संस्थालाई निष्क्रिय राख्नुको साथै खेल मैदानमा विकृति बढ्दै गए पछि संस्थाका सदस्य तथा लगानीकर्ताहरूमा खेल मैदान नै भत्काइनु पर्ने वा बेच्नु पर्ने कुरा उठेको वर्तमान अध्यक्ष क्याप्टेन अम्मर बहादुर पन्धाक लिम्बुले बताए । अव नयाँ कार्य समिति आएको छ । मलाइ विश्वास गरेर जिम्मा दिइएको छ । अवका दिन देखि संस्थालाई चलायमान बनाउने, सामाजिक कार्यहरूमा अग्रसर गराइनुका साथै संस्थाको भौतिक सम्पत्तिलाई व्यवसायीक बनाउने योजना रहेको उनले बताए ।

खेलमैदानलाई स्तरउन्नती गर्दै खेलमैदान क्षेत्रमा ट्रस्ट लगाएर सेमी कर्भडहलको रूपमा स्तरउन्नती गर्ने, चेन्जिङ्ग रुम र टोइलेट बाथरुमलाई सुधार र निर्माण गरिने योजना रहेको अध्यक्षले जानकारी दिए । निर्माण सम्पन्न भएपछि संस्थाले वार्षिक रूपमा बास्केटबल र भलिबल खेलको प्रतियोगिता आयोजना गर्ने योजना रहेको छ ।

खेलाडीहरूले प्रशिक्षणका लागि तथा खेल्नका लागि वार्षिक रूपमा अनिवार्य सदस्यता लिनु पर्नेछ, जसले गर्दा खेलाडी अनुशासन र उत्तरदायी हुनेछ । खेलमैदानको हललाई कार्यक्रमका लागि सर्वसाधारणलाई भाडामा लगाएर आर्थिक रूपमा बलियो बनाइने योजना समेत रहेको अध्यक्ष पन्धाकले बताए । अध्यक्ष अम्मर बहादुर पन्धाक धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत हुन । 

Basketball-cort