धरान : धरान उपमहानगरपालिका वडा नं. १० का निर्वतमान वडाध्यक्ष श्रीप्रसाद सुब्बाको निधन भएको छ ।

साउन २९ गते उच्च रक्तचापका कारण अस्पताल भर्ना भएका सुब्बालाई बीपी प्रतिष्ठानमा आइसियु नपाए पछि विराटनगरको विराट नर्सिङ होम लगिएको थियो । उनको उपचारको क्रममा आज दिउसो निधन भएको नेकपा एमाले धरान अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए ।

विराट नर्सिङ होमको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत सुब्बाको निधन भएपछि सुब्बाको पार्थिव शरीर अहिले धरान ल्याइएको छ । सुब्बाको छोरीहरू देश बाहिर रहेकाले पार्थिव शरीर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । सुब्बालाई उच्च रक्तचापको कारण ब्रेनस्ट्रोक भएको बताइएको छ ।

सुब्बा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा नं. १० को वडाध्यक्षमा निर्वाचित भएका थिए । सुब्बाका १ छोरा र ३ छोरी छन् ।