उर्लाबारी : उर्लाबारीको एक सहकारी संस्थाका कर्मचारी बेपत्ता भएका छन् । उर्लाबारी-६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्थाका बजार प्रतिनिधि रोजित पौडेल सहकारीकै कामका सिलसिलामा गएका बेला हिजो दिउँसोदेखि बेपत्ता भएका हुन् ।
उर्लाबारी-५ घर भएका २२ वर्षीय पौडेल मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला क्षेत्रमा कलेक्सनमा जाने गरेका थिए । सोमबार पनि काममा हिँडेको छोरो बेलुका घर नफर्किएपछि इलाका प्रहरी कार्यालय मधुमल्लामा जानकारी गराएको रोजितका बुबा होमप्रसाद पौडेलले बताए । ‘उसका दुई वटा मोबाइल थिए, एउटा घरमै राखेर हिँडेको छ’ होमप्रसादले भने, ‘बेलुका घर नफर्किएपछि राति नै मधुमल्ला आएर प्रहरीलाई जानकारी गरायौँ ।’ उनले बोकेको फोन स्वीचअफ रहेको र सामाजिक सञ्जालमा पनि सम्पर्क हुन नसकेको होमप्रसादले बताए ।
सोमबार दिउँसो ११ बजेपछि मधुमल्ला चौकबाट पश्चिमतर्फ लागेको सिसी क्यामेरामा देखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताए । त्यसपछि बेपत्ता भएका रोजितको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रनि थापाले जानकारी दिए ।
मधुमल्ला क्षेत्रमा बजार प्रतिनिधिको काम गर्दै आएका आफ्ना कर्मचारी हराएपछि सहकारीले पनि खोजी कार्य गरिरहेको सूर्य बचतका अध्यक्ष तेजनाथ घिमिरेले बताए । ‘त्यो दिन धेरै कलेक्सन गरेको जस्तो बुझिएन’ अध्यक्ष घिमिरेले भने, ‘बिहानै भएकाले ५ देखि १० हजारसम्म कलेक्सन गरेको हुनसक्छ ।’ उनले दैनिक १ लाख रुपैयाँ हाराहारी बचत सङ्कलन गर्ने गरेको अध्यक्ष घिमिरेले बताए ।