विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराध अनुसन्धानका लागि प्रहरी कर्मचारीलाई सुरक्षित र मजवुद बनाउनुपर्नेमा जोड दिएका छन् । 
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं १ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा सञ्चालन भएको १ दिने प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले अपराध अनुसन्धान क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने बताए । गृह मन्त्रालयका केही कर्मचारीको असहयोगका बावजुत पनि सरकारले आफ्नो प्रदेशमा प्रहरीलाई सुरक्षित बनाउनका लागि लागेको मन्त्री कार्कीले जानकारी दिए ।  
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पछिल्लो समय प्रविधिको प्रयोग गरी धेरैजसो अपराधहरू बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रविधि मैत्रीहुनुको विकल्प नरहेको बताए । उनले अपराध अनुसन्धानमा प्रमुख तिन पिल्लरको रूपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरूपण एक आपसमा समन्वय, सहकार्य मार्फत मात्र पीडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिए । 
यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले अपराध अनुसन्धान क्षेत्रमा प्रहरीले गरेका कार्यहरू प्रशंसायोग्य रहेको बताउँदै अपराध अनुसन्धान तथा नियन्त्रणमा सम्बद्ध सबै निकाय तथा सहयोगी निकायहरू पनि उत्तिकै जिम्मेवार हुनु पर्नेमा जोड दिए । यस्तै प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले अपराध गर्ने बदलिँदो शैली एवं आवरण, फैलँदो आपराधिक सञ्जालले थप चुनौतीहरू आइरहेको सन्दर्भमा अपराध अनुसन्धानको कार्यमा सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताए । 
कार्यक्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तम राज सुवेदी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, उच्च अदालत विराटनगरका रजिस्ट्रार जितेन्द्र थपलिया, उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता कोषहरी निरौला, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी, प्रहरी कर्मचारीहरू लगायत १५० जनाको उपस्थित रहेको थियो ।
अपराध अनुसन्धानमा बढेको चुनौतीहरू र समाधानका उपायहरू पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, १ नम्बर प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने इकाईहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरू बिचको अधिकतम परिचालन एवं अन्तर कार्यालयबिच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीको आयोजना भएको हो।
kedar-karki-police-karykram