धरान : लायन्स क्लब अफ विजयपुर धरानले वृक्षारोपण गरेको छ । 

क्लवले धरान १८ स्थित डिपो स्कुलमा दुई सय वोट बिरुवा रोपेको हो । डिस्ट्रिक्ट ३२५ गभर्नर लायन्स धिरज गुरुङको एक वर्षमा पाँच हजार वोट रुखको बिरुवा रोप्ने अभियान अन्तर्गत लायन्स क्लब विजयपुर र लियो क्लब अफ विजयपुरले संयुक्त रुपमा बिरुवा रोपेका हुन ।

क्लबले जामुना, तेजपत्ता, सखुवा, सजिवन, अम्बक, मेवा लगायत रुख र फलफूलका बिरुवाहरू रोपेका छन् । अभियान अन्तर्गत धरानका लायन्स क्लबहरूले अहिले सम्म धरानमा पैँतिस सय रुख र फलफूलका बिरुवाहरू रोपी सकेका छन् ।

वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन्स धिरज गुरुङ, लायन्स क्लब अफ विजयपुरका अध्यक्ष ममता शाक्य, क्लबका सचिव टङ्ककुमारी गुरुङ, लियो क्लबका अध्यक्ष प्रतीक ओझा लगायतको उपस्थिति रहेको थियो ।