धरान : प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बिहीबार देखी इटहरीमा ३ दिवसीय “आधारभूत पत्रकारिता तथा सार्वजनिक भाषणकला सम्बन्धी तालिम सुरु भएको छ ।

स्थानिय पिसजोन आवासीय मा.बि. प्लस टु को हलमा सुरु भएको तालिममा इटहरी क्षेत्रका विभिन्न वडा र कलेजबाट ८२ जना सहभागी रहेको सेन्टर सुनसरीका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । सहभागीहरूलाई दुई समूहमा राखेर प्रशिक्षण दिइएको थियो ।

पत्रकारिता सम्बन्धी आधारभूत ज्ञान र भाषणकलाको माध्यमबाट सहभागीहरूको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । तिन दिन सम्म चल्ने तालिममा राजेश विद्रोही, शिव कुमार डागि, श्रीसिसा राई र तीर्थ कार्कीले तालिमको सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

तालिममा सेन्टरका केन्द्रीय उप–महासचिव राजन केडि र केन्द्रीय सदस्य अर्जुन शर्माले सहभागीहरूलाई पत्रकारिताको महत्त्वको बारेमा प्रस्ट पारे । पहिलो दिनको तालिमबाट अगाडि गएर बोल्न आत्मविश्वास बढेको सहभागी मनीषा घिमिरेले बताइन ।

त्यस्तै पत्रकारिता के हो भन्ने बारेमा आधारभूत कुरा सिक्न पाएको अर्का सहभागी सुवास खत्रीले अनुभव सुनाए । कार्यक्रममा सेन्टरका जिल्ला सह सचिव मनोज निरौला र सदस्यद्वय विनीता कटुवाल र कृष्ण कार्कीको उपस्थिति रहेको थियो ।