धरान : मिराकल बास्केटबल क्लबको आयोजनामा आयोजित मिराकल थ्री वाई थ्री महिला पुरुष ओपन बास्केटबल प्रतियोगिताको उपाधि यलम्वर बास्केटबल क्लबले जितेको छ ।

धरान १६ स्थित धरान रंगाशालाको कर्भडहलमा आयोजित प्रतियोगिताको महिला पुरुष दुवै उपाधि यलम्वर क्लबले जितेका हुन । यलम्वरले प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा आयोजक मिराकल ब्ल्याकलाई ७–१ र पुरुष तर्फ व्रदर्शलाई १३–५ अङ्कको अन्तरले पराजित गर्दै दुवै उपाधि माथि कब्जा जमाएका हुन । उपाधि सँगै यलम्वर महिला टिमले नगद चार हजार, पुरुष टिमले नगद दश हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र हात पारे । उपविजेता महिला तर्फ मिराकल ब्ल्याक टिमले नगद दुई हजार रुपैयाँ, पुरुष तर्फ व्रदर्शले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र हात पारेका छन् ।

यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको महिला र पुरुष तर्फका दुवै उपाधि यलम्वर क्लबका शीतल तामाङ र दिवस राई घोषित भए । उनीहरूले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रतियोगिताका प्रमुख अतिथि सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, मिराकल बास्केटबल क्लबका अध्यक्ष सन्तोष तामाङ र प्रदेश १ का बास्केटबल मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले पुरस्कार वितरण गरेका थिए ।  

प्रतियोगिताको सेमिफाइनल खेलमा महिला तर्फ यलम्वर टिमले रेड डेभिल्सलाई ५–४ र मिराकल ब्ल्याकले धरान मेघा कलेजलाई ६–१ अङ्कको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । त्यसैगरी पुरुष तर्फ व्रदर्शले लिजेन्ड टिमलाई ८–७ र यलम्वरले धरान मेघा कलेजलाई १२–५ अङ्कले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन ।

प्रतियोगितामा धरान र धरान बाहिरका गरी महिला तर्फ एघार वटा टिम र पुरुष तर्फ २७ वटा टिमले सहभागिता जनाएको थियो ।