धरान : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारमा आफू लागि पर्ने बताएका छन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सेवा सुधारको माग गर्दै भइरहेको आन्दोलन सेभ घोपा अभियानको समापन समारोहलाई शनिवार सम्बोधन गर्दै मन्त्री खापुङले प्रतिष्ठानमा केही समस्याहरू भएको र प्रतिष्ठानको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । 

प्रतिष्ठानमा एमआरआई मेसिन नभएको भन्दै यसबारेमा पनि सरकारले चाडै समस्या समाधान गर्ने छ । यसका लागि आफूले प्रक्रिया अघि बढाइसकेको मन्त्री खापुङले बताए । प्रतिष्ठान एउटा स्वायत्त संस्था भएकोले आफैले कमाएर आफै सेवा विस्तार गर्नुपर्ने हो तर यसो हुन नसकेको बताउँदै मन्त्री खापुङले प्रतिष्ठान भित्रको बेतिथिको जसरी पनि सुधार गर्ने प्रतिबद्धता जनाए । 

मृत्युपछि आफ्नो पनि अंगदान गरेको घोषणा गर्दै मन्त्री खापुङले सेभ घोपा अभियानकर्मी हामी नेपाली टिमको मागको बारेमा सरकारले सम्बोधन गर्ने र अभियानकर्मीकै कारण प्रतिष्ठानको समस्यामा सबैको ध्यान केन्द्रित भएकोले समस्या समाधानमा सरकारको पनि ध्यान गएको बताउँदै अभियानकर्मीहरूलाई धन्यवाद पनि दिए । अभियानकर्मीहरुसंग काठमाण्डौमा बसेर मागको बारेमा छलफल भएकोले मागहरू बिस्तारै पुरा गर्दै जाने पनि बताए । 

बीपीको समस्या समाधानका लागि आफू धरान आएको बताउँदै मन्त्री खापुङले आइतबार प्रतिष्ठानका पदाधिकारीहरुसंग भेट गर्ने र प्रतिष्ठानको निरीक्षण गर्ने पनि कार्यक्रमलाई सम्बोधन गर्दै बताए । 

कार्यक्रममा हामी नेपालीका अध्यक्ष सुदन गुरुङले सेभ घोपा क्याम अभियानमा साथ दिनेहरूलाई धन्यवाद ज्ञापन गरे । उनले यो अभियानको क्रममा जीवनमा कहिल्यै नबिर्सने गरी गाली पनि खाएको बताउँदै आफू जस्तोसुकै परिस्थितिमा होस राम्रो काम गर्न अलिकति पनि विचलित नहुने बताए ।  

विगत ४ महिनादेखि जारी यो आन्दोलनमा प्रतिष्ठानको स्वास्थ्य सेवा सुधारको लागि अघि सारिएको ३२ वटा मागहरू मध्ये अधिकांश पुरा भइसकेको जनाइएको छ भने दीर्घकालिन रुपमा गर्नुपर्ने सुधारको कामहरूको प्रक्रिया पनि अघि बढेकोले यो आन्दोलन समापन गर्नुपरेको गुरुङले बताए ।