धरान : अनलाइन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application  द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कन्सल्टेन्सी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक-८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक स्थानिय २५ वर्षीय सत प्रकाश साह र दमक नगरपालिका–७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियोका सञ्चालक  कमल गाउँपालिका-२ का ३० वर्षीय अरुण कार्की तथा ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकका  सञ्चालक दमक-८ का ३३ वर्षीय राजु लिम्बु रहेका छन् ।  

गोप्य सूचनाको आधारमा १ नं.प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआईटी समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई भदौ ३ गते दमकबाट पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । 

पक्राउ परेको यो समूहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रूपमा अनलाइन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रूपमा अन्य व्यक्तिहरूको नागरिकताबाट एनसेलको सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवश्यक पर्ने ईसेवा खाता खोली लाखौँको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने बिद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरूको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसइई को प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले प्रयोगमा ल्याइएका एनसेलका सिमहरू २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोबाइल, ल्यापटप ४ थान, Prajapati Sapkota Ward Chairman Damak-02 लेखिएको स्ट्याम्प १ थान, Head Teacher लेखिएको स्ट्याम्प १ थान, Dik Bahadur Gurung लेखिएको स्ट्याम्प १ थान, Madi Municipality 3 No Ward Office, Sankhuwasabha लेखिएको स्ट्याम्प १ थान, Government Of Nepal Ministry Of Education लेखिएको स्ट्याम्प १ थान, नेपालको निशान छाप भएको स्ट्याम्प १ थान, नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान, Global Educational Academy  लेखिएको स्ट्याम्प १ थान र Nepalese Army Record Office, 2043 लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ ।

पक्राउ परेको यो समूहलाई  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थपगरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ  ।

Pakrau-1