धरान : १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय भोजपुरको तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

प्रहरी निरीक्षक नेम्बाङ बुढिगंगा गाउँपालिका-१ बस्ने दिपेन यादवको १ बर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका-१२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरणगरी लगेको सम्बन्धमा सूक्ष्म रूपमा अनुसन्धान गरी बालिकालाई भारतको दरभंगाबाट सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएका थिए।

यसैगरी प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका-६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका-८ पोखरेका ६० वर्षीय सूर्य बहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएका थिए । प्रहरी निरीक्षकद्वयले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले २०७९ साल साउन "महिनाको सर्वोत्कृष्ट प्रहरी" घोषणा गरेको हो । 

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय 'क' स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिँदै आइएको छ ।