धरान : यही असोज २८ गते देखि पोखरामा हुन लागेको ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुनसरीका महिला पुरुष बास्केटबल खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ ।

धरान-१६ स्थित धरान रङ्गशालाको कर्भडहलमा मङ्गलवार सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, प्रदेश १ खेलकुद बोर्डका सदस्य रोशनी राई, पूर्वाञ्चल बास्केटबल मुख्य प्रशिक्षक विकास चाम्लिङ राई र १६ न. वडाध्यक्ष मुरारि भट्टराईको उपस्थितिमा छनौट कार्यक्रम सम्पन्न भएको हो ।

छनौट कार्यक्रममा छनौटका लागि सुनसरी भरिका पुरुष तर्फ ३२ जना र महिला तर्फ २१ जना खेलाडीहरूले सहभागिता जनाएका थिए । उनीहरूलाई चार टिममा विभाजन गरी छनौट खेल खेलाइएको थियो । छनौट कमिटीका प्रशिक्षक विकास चाम्लिङ राई, रञ्जित लिम्बु र रोशन राईले छनौट भएका खेलाडीहरूको नाम बुधवार सार्वजनिक गर्ने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष तथा खेलाडी छनौट कार्यक्रम संयोजक नारायण सुवेदीले बताए ।

९ औं राष्ट्रिय प्रतियोगितामा ३६ वटा खेल प्रतियोगिता हुदैछ । सुनसरीले २५ वटा खेलमा सहभागिता जनाउने कार्यक्रमका प्रमुख अतिथि सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले जानकारी गराए । सुनसरीका सम्पूर्ण खेलाडीहरूले अनुशासित भएर खेल्न र धेरै भन्दा धेरै खेलाडीहरू प्रदेश १ टिममा छनौट हुँदै राष्ट्रिय पदक ल्याउन प्रमुख अतिथि राईले खेलाडीहरूलाई निर्देशन दिँदै सफलताको शुभकामना दिएका छन् । 

कार्यक्रमका विशेष अतिथि १६ नं वडाका वडाध्यक्ष मुरारी भट्टराईले राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरूको प्रोत्साहनको लागि आफ्नो वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नै वडामा पर्ने रङ्गशाला र कर्भडहलमा हुने प्रदेश १ खेलाडी छनौट प्रतियोगिताको लागि समेत सहयोग गर्ने बताए ।