धरान : धरान ज्येष्ठ नागरिक मिलन केन्द्रले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । 

मङ्गलवार धरान १३ को वडा कार्यालयमा सम्पन्न शिविरमा १२५ जनाले आँखा जाँच गराएका थिए । शिविर धरान १३ नं. वडा कार्यालय समेतको सहकार्यमा सम्पन्न भएको हो । वडाले ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने गरेको वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । 

विराटनगर आँखा अस्पतालको चिकित्सक तथा डाक्टरहरूबाट आँखा जाँच गरिएको थियो । आँखा जाँच गरेका मध्ये १५ जनाको मोतिया विन्दु अपरेसन गर्नुपर्ने   अस्पतालका शिविर संयोजक मनिष खवासले बताए । ज्येष्ठ नागरिकहरुमा आँखाको समस्या देखिएकाले यो शिविरको आयोजना गरिएको मिलन केन्द्रका उपाध्यक्ष प्राध्यापक कुमार बहादुर कार्कीले बताए ।

शिविरमा नि:शुल्क औषधि र सहुलियत मूल्यमा चस्मा वितरण तथा मोतिया बिन्दु भएकालाई नि :शुल्क अपरेसनको व्यवस्था गरिएको कार्यक्रम संयोजक गङ्गाप्रसाद रेग्मीले जानकारी दिए । शिविरमा धरान नगर प्रमुख हर्क सपाङ्ग र उपप्रमुख अइन्द्र विक्रम बेघाको समेत उपस्थिति रहेको थियो ।  कार्यक्रमको  समन्वय मोहन श्रेष्ठले गरेका थिए ।

शिविरमा ज्येष्ठ नागरिक मिलन केन्द्रका पदाधिकारीहरू कृष्ण बहादुर कटुवाल, नैनकला न्यौपाने, गोविन्द तिम्सिना, हरि बहादुर विष्ट, कमल पोख्रेल, पितरुमल अग्रवाल, जमुना मोक्तानको सक्रिय सहभागिता रहेको थियो ।  साथै धरान जेसीजका सलुजा मास्के र निशान नेपालले स्वयम सेवा प्रदान गरेका थिए ।