धरान : स्थानिय तह निर्वाचन सम्पन्न भएर सय दिन पुगेको भन्दै जनप्रतिनिधिहरूले धमाधम आफ्नो प्रगति विवरण सार्वजनिक गरीरहेकोबेला सुनसरीमा निर्वाचनमा भएको खर्च विवरण अझै २ हजार ४ सय ९० जनाले बुझाएका छैनन् । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार अहिले सम्म निर्वाचन सम्पन्न भएर मत परिणाम सार्वजनिक भएको मितिले ३० दिन भित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने हुन्छ । ३० दिनको अवधिमा सुनसरीमा ३ सय ७७ जनाले मात्रै खर्च विवरण पेस गरेका छन् । म्याद गुज्रेपछि ३ सय ३५ जनाले चुनावी खर्च विवरण पेस गरेका छन् भने अझै २ हजार ४ सय ९० जनाले खर्च विवरण नबुझाएको पाईएको छ । 

निर्वाचन आयोगले गएको भदौ १ गते सार्वजनिक सूचना जारी गरी भदौ ७ गते सम्ममा सम्पूर्ण उम्मेदवारहरूले निर्वाचन खर्च विवरण किन समयमै बुझाउन नसकेको हो ? भन्ने स्पष्टीकरण सहित निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन भनेको थियो । यो अवधिमा पनि सुनसरीमा कमै मात्र उम्मेदवारले स्पष्टीकरण सहित निर्वाचन खर्च विवरण बुझाएका छन् । बुझाइएको स्पष्टीकरण सहितको विवरण अहिले निर्वाचन कार्यालय सुनसरीले अध्ययन गरिरहेको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

मतगणनाको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३० दिन भित्र खर्चको विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि स्थानिय तह निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले कानुनलाई अवज्ञा गरेको पाईएको छ । 

समयमै खर्च विवरण पेस नगर्नेहरूमा केही पालिकाका प्रमुख उपप्रमुख पनि रहेको बताइएको छ । सुनसरीको १२ पालिकाबाट गएको वैशाख ३० गतेको स्थानिय तह निर्वाचनमा ३ हजार २ सय २ जनाले उम्मेदवारी दिएका थिए ।