विराटनगर : नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लब उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ । 

महासङ्घका पूर्व अध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ प्रदान गर्ने निर्णय भएको अध्यक्ष सञ्जीव खनालले बताए । पुरस्कारको राशि २५ हजार रहेको छ । यसअघि सो पुरस्कार नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरहीलाई प्रदान गरिएको थियो । 

त्यसैगरि खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ सञ्चार क्लब उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार यसअघि नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय पार्षद् कमल पौडेललाई प्रदान गरिएको थियो । 

दुवै पुरस्कार मोतीराम जयन्तीका अवसरमा भदौ ११ गते प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा समर्पण गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासङ्घका सचिव नेत्र पी अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।