धरान : धरानको निशाने खोला दोभानमा खानेपानीको रिजर्भ ट्याङ्की निर्माण कार्य सुरु भएको छ । 

गत आइतबार विधिवतरुपमा शिलान्यास गरी निर्माण सुरु भएको ट्याङ्की तीन महिनामा निर्माण सम्पन्न हुने लक्ष लिइएको छ । ट्याङ्की निर्माणका लागि खन्ने र सम्म्याउने कार्य सकिएको छ भने अहिले १० इन्चे पाइप जोडेर धमाधम तान्न थालिएको छ ।

मेयर हर्क साम्पाङका अनुसार ट्याङ्की निर्माण सकिनु अगाडी नै २५ दिन भित्र निशाने दोभानमा जम्मा गरिएको सर्दु, खर्दु र निशाने खोलाको पानी डाइरेक्टर पाइपमा जडान गरेर स्वस्तिका चौक पुर्‍याइने छ । त्यसका लागि अहिले पाइप जोडने र तान्ने टाङ्ने कार्य धमाधम भइरहेको छ ।  

गोर्खा पिस फाउण्डेशन युके र मेयर हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा निर्माण भइरहेको खानेपानीको ट्याङ्की अढाई लाख लिटर क्षमताको भनिए पनि बन्ने क्रममा २ लाख १० हजार लिटर बढी क्षमताको हुने प्रोजेक्ट मेनेजर पूर्णप्रसाद लिम्बुले जानकारी दिए ।

उनका अनुसार अढाई लाख लिटर क्षमताको ट्याङ्की निर्माण गर्ने योजना भए पनि प्राविधिक कारणले २ लाख १० हजार भन्दा केही बढी क्षमताको निर्माण हुने भएको छ । ट्याङ्की निर्माणको कुल लागत स्टिमेट ५५ लाख ९० हजार २ सय ३३ रुपैयाँ अनुमान गरिएको छ ।

धरान उपमहानगरपालिका र खानेपानी बोर्डबाट जनश्रमदान ७ लाख ४७ हजार ७ सय रुपैयाँ बराबरको हुने बताइएको छ । सहयोग र जनश्रमदान गरी कुल हिसाब गर्दा ट्याङ्की निर्माणमा ६३ लाख ३६ हजार ९ सय ३६ रुपैयाँ बराबरको हुनेछ । ट्याङ्की ३ महिनाभित्र निर्माण कार्य सकेर हस्तान्तरण गरिने प्रोजेक्ट मेनेजर पूर्णप्रसाद लिम्बुले जानकारी दिए ।

निशाने दोभानबाट १० इन्चको खानेपानीको पाइप सर्दु खोलाको फ्लावर ब्रिजको पूर्व पट्टी र सर्दु खोलाको पूर्वी किनाराको भित्ता हुँदै जानकी चौक निकालिने छ । जानकी चौकबाट सडकको फुटपाथमा अन्डरग्राउन्ड गरेर स्वस्तिका चौक पुर्याईने खानेपानी बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेलले बताए । यसका लागि द्रुत गतिमा मेयर हर्क साम्पाङको निर्देशनमा काम भइरहेको छ ।  सर्दु, खर्दु र निशाने खोलाको पानीले धरान १०, १२, ११, १७, १८ र १९ वडामा राहत पुग्ने बताइएको छ ।