विराटनगर : भारतका वरिष्ठ न्युरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आबद्ध भएका छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधवारबाट नोबेलमा सेवा सुरु गरेका हुन् ।
उनलाई नोबेलका न्युरो विभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्ड ब्रेन ट्युमर, मेरुदण्डको नसा च्यापिएको, ट्युमर पलाएको लगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशन गर्न अब्बल मानिन्छन् । प्रा.डा.जोनाथानको नोबेल प्रवेशले नेपाली बिरामीहरूलाई निकै राहत मिल्ने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।
नोबेल मा वरिष्ठ न्युरो सर्जन डा.काफ्ले, डा.प्रमोद चौधरी लगायत न्युरो सर्जनहरू पनि कार्यरत छन् । प्रा.डा.जोनाथानको प्रवेशले नोबेलमा न्युरो सर्जनको टिम थप मजबुत भएको छ । विश्वमै जटिल एवं दुर्लभ मानिने शल्यक्रियाहरू पनि सफलतापूर्वक गरेर नोबेल अस्पताल न्युरो सर्जरी सेवामा अब्बल साबित छ । नोबेलमा नेपालका विभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका बिरामी पनि शल्यक्रियाका लागि आउने गरेको अस्पतालले जानकारी दिएको छ ।
नोबेलले दुई अर्ब २० करोडको लगानी गरेर २०७३ सालबाट दक्षिणपूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्युरो सर्जरी सेवा सुरु गरेको हो । नोबेल मा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्युरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् ।
अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरू भएकाले नोबेल मा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ । नोबेल मा न्युरो सर्जरी सम्बन्धी पीएचडी लेबलको 'एमसीएच न्यूरोसर्जरी' पढाई पनि हुने गरेको छ ।